images
images

बागमती प्रदेश सरकारले बाढी – पहिरो प्रभावित ४५ स्थानीय तहलाई ५ करोड ८० लाख आर्थिक सहयोग गर्ने

  • १९ आश्विन २०८१, शनिबार १३:०९

हटौंडा । बागमती प्रदेश सरकारले बाढी – पहिरो प्रभावित ४५ स्थानीय तहलाई ५ करोड भन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ४५ स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । यही असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य लागि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा भएकोमा ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराईने  छ ।

बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय गरेको लामिछानेले बताउनुभयो ।

यसैबीच, वागमती प्रदेश सरकारका मन्त्रीहरुले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् ।
आज हेटौंडामा भएको मन्त्रीहरुको छलफल विपद् प्रभावित नागरिकहरुको लागी १५ दिनको तलब प्रदेश कोषमा जम्मा गर्ने सहमति भएको हो । छलफलमा विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुन स्थापनाको लागी सोही रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।