images
images

प्रशिद्ध रामबोले मेला सुरु, पञ्चमीसम्म दर्शनार्थीको भिड हुने

  • १९ कार्तिक २०७९, शनिबार १०:२२

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित रामबोलेको कालीदेवी मन्दिरमा यो वर्षको मेला सुरु भएको छ ।

कालिदेवी मन्दिरमा वर्षाेदेखि एकादशीदेखि पञ्चमीसम्म एक साता लाग्ने मेला यो वर्ष पनि हिजोदेखि सुरु भएको हो । यसअघिका केही वर्ष कोरोनाका कारण प्रभावित हुन पुगेपनि गत आर्थिक वर्षबाट भने कालीदेवी मन्दिरमा विगतमा जस्तै भव्य मेला लाग्न थालेको छ । यो बेला कालिदेवी मन्दिरको मेलामा दैनिक आन्तरिक तथा बाह्य दर्शनार्थीको भिड बढ्ने गरेको मन्दिर सँरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । रामबोलेमा दैनिक सैंयौंको संख्यामा जिल्लाका आन्तरिक दर्शनार्थीहरु दर्शन तथा मेला भर्न पुग्ने गरेका छन् भने बाह्य दर्शनार्थीको भिड पनि त्यतिकै हुने गरेको छ ।

जिरी नगरपालिका वडा नम्बर ८ रामबोले स्थित कालिदेवीको मन्दिरलाई जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर मध्ये एक मानिन्छ । कालीदेवी मन्दिरमा आफ्नो मनोकांक्षा पुरा होस् भन्ने कामनाका साथ ठूलो सँख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् । सो मन्दिरमा सैंयौं पाठी, परेवा र भालेको बलीपुजा पनि गर्ने गरिन्छ । प्रत्येक वर्ष भव्य मेला लाग्ने सो मन्दिरमा दोलखा र आसपासका जिल्ला सहित राजधानी तथा भारतदेखिका दर्शनार्थीहरु आउने गर्दछन् ।

खासगरी रामबोलेको कालीदेवी मन्दिरमा एकादशीदेखी पञ्चमीसम्म भव्य मेला लाग्ने गर्दछ । साक्षात् शक्तिवान देवीको रुपमा पुजिने कालिदेवी मन्दिर जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य मध्ये एक हो । विगतमा रामबोले मन्दिरमा पूर्णिमा र पञ्चमीका दिन रातभर युवायुवति जुहारी खेल्ने र जुहारी जित्नेले विवाह गरी लैजाने चलन भएपनि पछिल्ला बर्षहरुमा भने यसको रौनकता हटेको छ ।