दोलखा । नेपाली कांग्रेस दोलखाले महासमिति सदस्य चयनमा सहमति नभए निर्वाचनमा जाने जनाएको छ ।
कांग्रेस दोलखाका सभापति बर्मा लामाले महासमिति सदस्यको टुंगो लगाउन विभिन्न चरणमा बैठक र छलफल भैरहेको भन्दै १९ गतेसम्म सहमति नजुटेमा निर्वाचनको प्रक्रियामा जाने बताउनुभएको हो । महासमिति सदस्यका लागि नेताहरुले दौडधुप तीब्र बनाएका छन् । सभापति लामाले आज र भोली सहमतिको प्रयास गर्ने र सहमति नभए २० गते उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन सम्पन्न गर्नेसम्मको तयारी थाल्ने बताउनुभएको हो ।
दोलखामा कांग्रेस महासमिति सदस्यको ११ पदका लागि २३ जनाको दाबी रहेको छ । दुई महिला सहित ७ जना खुलाबाट र ४ जना क्लस्टरबाट महासमिति सदस्य चयन हुने व्यवस्था छ । क्लस्टरवाट जनजाति महिला र खस आर्य महिला सहित दुई महिला, पुरुष र अल्पसंख्यकवाट गरी ४ जना चुनिनु पर्नेछ । दोलखामा संस्थापन र संस्थापन ईतर समूहको गुटबन्दीका कारण महासमिति सदस्य सहजै टुंगो लगाउन कठिन देखिन्छ । संस्थापन पक्षले ११ मध्ये ५ देखि ६ पदसम्म पाउनुपर्ने दाबी गरेपछि दुई गुट मिलाउन कठिन देखिएको हो । यद्धपि जिल्ला नेताहरुले सहमतिमै महासमिति सदस्य चयन हुने दावी गरिरहेका छन् ।
कांग्रेसको १४ औँ जिल्ला अधिबेशनले २६ जना महाधिबेशन प्रतिनिधि चयन गरेकोमा महासमिति सदस्यका लागि २३ जनाले दौडधुप बढाएका हुन् । महाधिबेशन प्रतिनिधिमा निर्वाचित जिप्छिरिङ लामा, कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी केन्द्रिय सदस्य बनेका कारण स्वत महासमिति सदस्य हुने प्राबधान छ भने पार्टी जिल्ला सभापति बर्मा लामा महा समितिमा पदेन सदस्य हुने छन् । सहमति नजुटी निर्वाचन भएमा ७४ वटा वडाबाट चुनिएर आएका करिव १६ सय प्रतिनिधिले मतदान गर्ने छन् ।
दोलखामा कांग्रेस महासमिति सदस्यको ११ पदका लागि २३ जनाको दाबी रहेको छ । दुई महिला सहित ७ जना खुलाबाट र ४ जना क्लस्टरबाट महासमिति सदस्य चयन हुने व्यवस्था छ । दोलखामा संस्थापन र संस्थापन ईतर समूहको गुटबन्दीका कारण महासमिति सदस्य सहजै टुंगो लगाउन कठिन देखिन्छ । संस्थापन पक्षले ११ मध्ये ५ देखि ६ पदसम्म पाउनुपर्ने दाबी गरेपछि दुई गुट मिलाउन कठिन देखिएको हो । यद्धपि जिल्ला नेताहरुले सहमतिमै महासमिति सदस्य चयन हुने दावी गरिरहेका छन् ।
कांग्रेस दोलखाका पूर्व सभापति तारावहादुर कोइरालाले जिल्ला पार्टीमा गुटवन्दी नरहेको दावी गर्दै आफुहरु छलफलमा रहेको र सहमतिमा महा समिति सदस्य चुनिने प्रतिक्रिया दिनुभयो । उहाँले सिनियर नेताहरुलाई महासमितिमा सहमतिका साथ लैजानु पर्नेमा जोड दिनुभयो । कांग्रेस दोलखाका अर्का पूर्व सभापति रुद्रवहादुर खड्काले पनि सहमतिको प्रयास जारी रहेको बताउनुभयो । गुट नभई सिनियर नेतालाई प्राथमिकतामा राखी क्लस्टर मिलाएर महा समिति सदस्य चुनिनु पर्ने उहाँको भनाई छ । दोलखा जिल्लामा हालसम्म सहमतिकै आधारमा महासमिति सदस्य चुनिदै आएका छन् ।
महासमिति सदस्य पदकालागि तारावहादुर कोइराला, इस्वर मानन्धर, प्रभुराम श्रेष्ठ, बाबुकाजी बस्नेत, कुमार अधिकारी, भबिन्द्र कार्की लगायतका नेताहरु दावेदार रहेका छन् । पूर्व पार्टी सभापतिहरु उद्धवराज काफ्ले, रुद्रवहादुर खड्का र नेता केशव चौंलागाई भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका कारण महासमिति सदस्य बन्न पाउने छैनन् । अर्का नेता तारा खड्का पनि जिल्ला पार्टी सभापतिमा पराजित भएका कारण महासमिति सदस्यको प्रतिश्पर्धावाट बाहिर छन् ।