images
images

बेल्जियम नागरिक छिरिङले काभ्रेपलाञ्चोकबाट लिएको नागरिकता रद्ध

  • १९ कार्तिक २०८०, आईतवार १४:०४

काठमाण्डौँ । काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता लिएका बेल्जियम नागरिक दावा छिरिङको नागरिकता रद्ध गरिएको छ ।

सवारीसाधनका पार्टपुर्जामा लुकाएर नेपालमा सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता रद्द गरिएको हो । उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेबाट नेपाली नागरिकता लिएका थिए । उनले २०७४ साल पौष २० मा काभ्रेको नमोबुद्ध नगरपालिका ठेगाना राखेर निमा लामाको नाममा नेपाली नागरिकता बनाएका थिए । तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ ।

छानबिनमा उनले झुटा विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएकाले रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । गृह मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले छिरिङको नागरिकता रद्द गरेको थियो । नेपाली महिलासँग बिहे गरी छिरिङ लामो समयदेखि नेपालमा बस्दै आएका छन् । उनको ठमेलमा होटेल छ । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् । छिरिङसँगै पक्राउ परेका अन्य तीन चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ । नागरिकता दिलाउँदा जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाइएको सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही आधारमा कर्मचारीसमेत अनुसन्धानमा तानिने सम्भावना छ ।