images
images

भोलीदेखि एमडिएमएस लागु हुने, दर्ता नभएका ५० लाख महंगा फोन ब्लक गरिने

  • १९ कार्तिक २०८०, आईतवार १४:३२

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएसमा दर्ता नभएका आइफोन लगायतका महंगा मोबाईल ब्लक गर्ने भएको छ ।

प्राधिकरणले भोलिदेखि एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भोलिदेखि दर्ता नभएका मोबाईल ब्लक गरिने जानकारी दिनुभयो । उहाँका अनुसार महंगा फोन बन्द भएपछि अन्य फोन क्रमशः बन्द गरिनेछ । मोबाईल डिभाईस म्यानेजमेन्ट सिस्टम एमडिएमएसमा दर्ता नभएको करिव ५० लाख फोन मध्य पहिलो चरण आइफोन लगायत महंगा फोन ब्लक गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । गत जेटबाट लागु गर्ने भनिएपनि विवादका कारण हालसम्म लागु नभएको एमडिएमएस भोलीदेखि लागु हुने भएको हो ।

मोबाईल एमडिएमएसमा कसरी दर्ता गर्ने ?

कुनै व्यक्तिले विदेशबाट आउँदा साथमा ल्याएको मोबाइल आफैँले एमडिएमएस प्रणालीमा दर्ता गर्न सक्नेछन् । यसका लागि सबैभन्दा पहिला प्राधिकरणको एमडिएमएस वेबसाइटमा जानुपर्नेछ । यसमा चारवटा चरण छन् । डब्लुडब्लुडब्लु एमडिएमएस डट एनटिए डट जिओभी डट एनपी वेबसाइटमा जानुपर्छ । वेबसाइट सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको छ, त्यसमा प्रवेश गर्ने ।

पहिलो चरणमा मोबाइलको आइएमइआई नम्बर, मोबाइलको ब्रान्ड, मोडल र मोबाइल पहिला प्रयोग भए–नभएको विवरण भर्नुपर्नेछ । सो विवरण भरिसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ ।

इमेल राखिसकेपछि त्यसमा ओटिपी नम्बर आउँछ । त्यो ओटिपी नम्बर राखेपछि तेस्रो चरणमा पुगिन्छ । तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण कुन मुलुकबाट आएको हो र मिति भर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण राख्नुपर्नेछ । जसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाइल नम्बर र पासपोर्ट राख्नुपर्नेछ । राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक–फरक फर्म भर्नुपर्नेछ ।

राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि हवाईमार्गबाट नेपाल आएका हुन् भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पूरा पेज र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गरेका नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ ।

यदि विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्नेछ । विदेशीको हकमा भिसा अवधिभर मात्रै मोबाइल नम्बर नेपालमा प्रयोग गर्न सकिनेछ ।