images
images

दोलखा कांग्रेसमा महासमिति सदस्य चयन पेचिलो बन्दै, निर्वाचन कार्यक्रम सार्वजनिक

  • १९ कार्तिक २०८०, आईतवार १५:१४

दोलखा । नेपाली कांग्रेस दोलखाको महासमिति सदस्य चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

जिल्लाका नेताहरुबीच सहमति जुट्न नसकेपछि आजैबाट लागु हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो । जसअनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ । भोली बिहान १० बजेसम्म मतदाता नामावली उपर दाबी बिरोध र १२ बजेसम्म मतदाता नामावली माथिको त्रुटी सच्याई अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरुको अन्तिम नामावली २१ गते बिहान ३ः३० बजे हुनेछ ।

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले महासमिति सदस्यका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको बताउनुभयो । सभापति लामाले निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयास जारी रहने र सहमतिमै महासमिति सदस्य चुनिने विस्वास व्यक्त गर्नुभयो । सहमति नजुटी मतदान हुने अवस्था आएमा निर्वाचनमा ७४ वटा वडाबाट चुनिएर आएका करिव १६ सय प्रतिनिधिले मतदान गर्ने छन् ।

महासमिति सदस्यका लागि नेताहरुले दौडधुप तीब्र बनाएका छन् । दोलखामा कांग्रेस महासमिति सदस्यको ११ पदका लागि २३ जनाको दाबी रहेको छ । दुई महिला सहित ७ जना खुलाबाट र ४ जना क्लस्टरबाट महासमिति सदस्य चयन हुने व्यवस्था छ । क्लस्टरवाट जनजाति महिला र खस आर्य महिला सहित दुई महिला, पुरुष र अल्पसंख्यकवाट गरी ४ जना चुनिनु पर्नेछ ।

कांग्रेसको १४ औँ जिल्ला अधिबेशनले २६ जना महाधिबेशन प्रतिनिधि चयन गरेकोमा महासमिति सदस्यका लागि २३ जनाले दौडधुप बढाएका हुन् । महासमिति सदस्य पदकालागि तारावहादुर कोइराला, इस्वर मानन्धर, प्रभुराम श्रेष्ठ, बाबुकाजी बस्नेत, कुमार अधिकारी, भबिन्द्र कार्की लगायतका नेताहरु दावेदार रहेका छन् ।