पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आज अनुमति दिएको हो । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएपछि सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धानका लागि २५ दिनको समय माग गरेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न १० दिन म्याद थप्ने अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यो सहित तेस्रो पटक म्याद थपेको हो । यसअघि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिन म्याद थपिएको थियो ।