दोलखा । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा प्रमुख दलका उम्मेदवारहरु वीच प्रतिश्पर्धा हुने भएको छ ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदकालागि हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार वीच प्रतिश्पर्धा हुने भएको हो । उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको नाम घोषणा गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्रवाट पनि उम्मेदवारी दिने तयारी भइरहेको छ ।
नेकपा माओवादी केन्द्रले मार्वुकी निमलेकी शेर्पा, नेपाली कांग्रेसले चंखुकी पासदिकी शेर्पा तामाङ र एमालेले मार्वुकै उमा मगर शेर्पालाई उम्मेदवारको रुपमा अघि सारेको छ । प्रमुख तीन दलवाट अघि सारिएका उम्मेदवारहरुले तिहारको अवधिमा समेत भेटघाट र चुनावाी प्रचारलाई तिव्रता दिएका छन् ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीककृत समाजवादीले सुरीकी रविना खड्कालाई उम्मेदवार बनाउने भएको छ । नेकपा एसको कार्तिक १३ गते बसेको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी जिल्ला अध्यक्ष भिमप्रसाद दहालले जानकारी दिनुभयो ।
राप्रपाले भने पालिकाको उपाध्यक्ष पदमा मनु कुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले आज मात्रै उम्मेदवारको टुँगो लगाएको हो । गौरीशंकरमा रास्वपा र स्वतन्त्रवाट पनि उम्मेदवारी दिने तयारी भएको छ । केही समयअघि एमाले परित्याग गरेका एमाले नेता एवँ पूर्व वडा अध्यक्ष डिल्लिध्वज बस्नेतले स्वतन्त्रवाट उम्मेदवारी दिने चर्चा छ ।
स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवार घोषणा गरे पनि मनोनयन दर्ताको अवधिसम्म कतिपय दलहरुबीच तालमेल हुने सम्भावना पनि छ । यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस वीच चुनावी तालमेल भएको थियो ।
उक्त निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार बिश्वास कार्की अध्यक्षमा र नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष तामाङको २०८० सालको असार महिनामा हृदयघातका कारण निधन भएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।