images
images

प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सावर्जनिक

  • १९ मंसिर २०७९, सोमबार १०:५२

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।

निर्वाचन सम्पन्न भएको १५ दिनपछि निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको हो । आज बिहान दोलखामा सम्पन्न मतगणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै मतगणना सकिएर नतिजा सावर्जनिक भएको हो । सावर्जनिक नतिजा अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमालेले ४४ सिट जित्न सफल भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १८ सिट जित्दै तेस्रो दल बनेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा र जसपाले ७/७, लोसपा ४, नागरिक उन्मुक्तिा पार्टी, नेमकिपा, जनमत पार्टीले १/१ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । संसदमा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मत पाएको छ । यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १ सय २४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हनजार ५ सय ४३, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४६ मत ल्याएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मत ल्याएर थ्रेस होल्ड कटाएको छैन ।