images
images

रुकुमपश्चिम हत्याकाण्डः वडाअध्यक्ष सहित २४ जनालाई जन्मकैदको फैसला

  • १९ मंसिर २०८०, मंगलवार १८:५०

काठमाडौं । रुकुमपश्चिममा गैरदलित प्रेमिका भगाउन गएका ६ जनाको हत्या प्रकरणमा वडाअध्यक्ष सहित २४ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा प्रेमिका भगाउन गएका नवराज विक सहित ६ जनाको २०७७ साल जेठ १० गते हत्या भएको थियो । सो घटनामा संलग्न भएका २४ जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एक जना नावालक सहित २४ जनालाई आज जन्मकैदको सजाय सुनाएको छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षिय नवराज विक साथीहरु लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोती गाउँमा गएका बेला स्थानीयले आक्रमण गरी ६ जनाको हत्या गरेका थिए ।

आक्रमणमा परी १२ जना घाईते भएका थिए । विक सहित उनका साथीहरु सन्दीप विश्वकर्मा, टिकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामुहिक हत्या भएको थियो । उनीहरुको शव भेरी नदिमा फेला परेको थियो । त्यसपछि मृतक नवराजका बुबाले दिएको जाहेरीका आधारमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाअध्यक्ष डम्बरबहादुर मल्ला सहित ३४ जना विरुद्ध २०७७ जेठ २२ गते जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । सो मुद्धामा आज फैसला गर्दै अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।