images
images

दोलखाकी युवती कृतिकाको मृत्यु प्रकरण : दुर्घटना की हत्या ?

  • २२ पुष २०७८, बिहीबार ०९:५०

दोलखा । काठमाडौंमा बसको ठक्करबाट मृत्यु भएकी दोलखाको तामाकोसी गाउँपालिकाकी कृतिका कार्कीको हत्या भएको हो वा दुर्घटना भन्ने विषय अझै खुल्न सकेको छैन ।

बसको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तजनले दुर्घटना वा हत्या भन्ने यकिन हुनुपर्ने बताएका छन् । स्कुटरमा सवार तामाकोसी गाउँपालिका वडा नम्बर २ झुले घर भई काठमाडौंको शान्तिनगरमा डेरा गरी बस्दै आएकी २६ वर्षिया कार्कीलाई सोमबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ९ तिलगंगा, पिंगलास्थानमा मयुर यातायातको बा ५ ख १५३८ नम्बरको बसले ठक्कर दिएको थियो । स्कुटरमा सवार कार्की बसको ठक्करबाट गम्भिर घाईते भएकी थिइन् । गम्भिर घाईते उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको छ ।

दुर्घटना लगत्तै फरार भएका मयुर यातायात बसका चालक नुवाकोट, शिखरबेसीका श्रीमान तमाङ घटना भएको दुई दिनसम्म पनि पक्राउ परेका छैनन । उनको खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुुख, प्रहरी नायब उपरिक्षक केशव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बसका सहचालक भने पक्राउ परेका छन् । मृतक कार्कीका बुवा कल्याण कार्कीले भने सिसिटिभि फुटेजमा हेर्दा बसले उनलाई २० मिटरजति घिसारेको देखिएको भन्दै त्यो दुर्घटना नभई हत्या भएको आशंका गरीएको बताएका छन् । दुर्घटनाग्रस्त स्कुटरमा खासै क्षति नभएको र आफ्नो छोरीलाई बसले व्याक गरेर किचेको र घिसारेर लगेको सिसिटिभि फुटेजमा देखिएको उनले बताएका छन् । बसले ठक्कर मात्रै दिएको भए आफ्नो छोरी जोगिन सक्ने उनको भनाई छ । मृतक कार्कीका बुबाले दोषिमाथि कारवाहीको माग गर्दै प्रहरीकोमा जाहेरी दिएका छन् ।

छोरीको दुर्घटनामा परेको खवर पाए लगत्तै कल्याण सोही राति जेठा छोरासँग रातारात काठमाडौं पुगेका थिए । मृतक कृतिका आइएमई जनरल इन्स्योरेन्स नक्साल शाखामा काम गर्थिन् । ड्युटी सकेर सोमबार साँझ कोठामा फर्कदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् । ठक्कर दिएपछि उनी स्कुटरबाट लडेको र स्कुटरबाट लडेपछि बसले उनलाई किचेको गौशाला बृत्तले जनाएको छ । कृतिकाको विहेको कुरा चलिरहेका बेला उनको दुर्घटनामा परी मृत्यु भएको परिवाजनले बताएका छन् ।