जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ९ करोड ७३ लाख भन्दा बढी खर्च गरेको छ ।
जिरी नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५३ करोड ३ लाख २३ हजार बराबरको बजेट ल्याएकोमा मंसिरसम्म ९ करोड ७३ लाख २३ हजार ८ सय रुपैंया खर्च गरेको हो । १३ औं नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले मंसिर मसान्तसम्मको आय/व्यय विवरण सार्वजनिक गर्दै चालुतर्फ ८ करोड ७३ लाख ८४ हजार ८ सय रुयैंया र पूँजीगततर्फ ९९ लाख ३९ हजार खर्च भएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष चालुतर्फ ३५ करोड ४२ लाख २३ हजार र पूँजीगततर्फ नगरले १७ करोड ६० लाख ९९ हजार रुपैंया विनियोजन गरेको थियो । यस्तै, यो अवधिमा नगरपालिकाले ३३ लाख ९२ हजार १ सय ९९ रुपैंया आन्तरिक आम्दानी गरेको जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष एक करोड पाँच लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा ५ महिनाको अवधिमा सो रकम संकलन भएको हो ।
जिरी नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट रकम ८ करोड ३ लाख १४ हजार ६ सय अनुमान गरेकोमा मंसिर मसान्तसम्म एक करोड ३६ लाख ११ हजार ८ सय ७ रुपैँया प्राप्त गरेको छ । बागमती प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट रकम २ करोड २७ लाख ८७ हजार ६ सय ७१ रुपैंया प्राप्त हुने अनुमान रहेपनि हालसम्म ४३ लाख ७६ हजार २ सय ५९ रुपैंया मात्रै प्राप्त भएको नगरपालिकाले जनाएको छ । जिरी नगरपालिकाले संघीय सरकारवाट वित्तीय हस्तान्तरण अन्तर्गत समपुरक र शसर्त अनुदान गरी २१ करोड १७ लाख ७३ हजार र समानीकरण अनुदानतर्फ १० करोड ९ लाख आम्दानी हुने अनुमान गरेको छ । यस्तै, प्रदेश सरकारवाट वित्तीय हस्तान्तरण अन्तर्गत समपुरक र शसर्त अनुदान गरी ५ करोड ४२ लाख ९० हजार र प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड २ लाख ३१ हजार आम्दानी हुने लक्ष्य राखिएको छ ।
नगरवासीको हितमा काम गर्न नगर प्रमुखको निर्देशन
नगरसभामा बोल्दै जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले जनप्रतिनिधिले आफुहरुसँग भएको स्थानीय स्रोत साधनलाई इमान्दारीताका साथ नगरबासीको हितमा परिचालन गर्ने र सदुपयोग गर्ने तथा निष्ठापूर्वक आफ्ना गतिविधिलाई अगाडी बढाउन सकिएमा त्यसबाट सन्तुष्टि मिल्ने बताउनुभयो । उहाँले जिरीको जिरी ताल बागमती प्रदेश सरकारकै गौरवको आयोजना भएकोले ताल निर्माणकालागि प्रदेश सरकारलाई सजिकरण र सहयोग गर्ने जिम्मेवारी आफुहरुको काँधमा रहेको बताउनुभयो । जिरीबासीले उठाएका जिरी अस्पताल लगायतका जिज्ञासालाई गम्भीर रुपमा ग्रहण गरेको उहाँको भनाई छ ।
नगरसभामा लेखा समितिका संयोजक वीर बहादुर जिरेलले लेखा समिति गठन तथा संचालन कार्यविधि–२०८० को मस्यौदा, सामाजिक विकास समितिका सदस्य रोमकुमारी समाल जिरेलले नगर युवा तथा खेलकुद परिषद ऐन–२०७९ पहिलो संसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने विद्येयक समितिका संयोजक मरिजबहादुर खड्काले जिरी नगरपालिकामा करारमा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि दोस्रो संसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा खरिद नियमावली–२०७७ पहिलो संशोधन सम्बन्धी प्रस्ताव सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक शान्त नेपाली नगरसभामा अनुपस्थित भएपछि कार्यपालिका सदस्य सुशा जिरेलले प्रस्तुत गर्नुभएको थियो । नगरसभामा सबै वडाका वडाध्यक्षहरु, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायतको सहभागीता थियो ।















