images
images

पर्यटकीय नगरी जिरीमा यसरी मनाइयो होली (भिडियोसहित)

  • २२ फाल्गुन २०७९, सोमबार १९:१२

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा होली पर्व धुमधामका साथ मनाइएको छ ।

पहाडी र हिमाली जिल्लामा आज मनाइने होली पर्व पर्यटकीय नगरी जिरीको लिंकनबजारमा पनि धुमाधामका साथ मनाइएको हो । होली कार्यक्रमको जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले उद्धघाटन गर्नुभएको थियो । युवा सञ्जाल जिरीको आयोजनामा जिरीमा ‘जिरी जाऊ होली मनाऊ’ भन्ने नाराको साथमा होली पर्व भव्य मनाइएको छ ।

जिरीमा विगतको वर्ष भन्दा यो वर्ष फरक र स्पेशल तरिकाले होली पर्व मनाइएको हो । यो वर्ष जिरी नगरपालिकाका स्थानीयवासी, बैतेश्वर गाउँपालिका, रामेछापको मन्थली, बाम्तीभण्डार, ठोसे, शिवालय लगायतका १५ सय बढी मानिसहरु जम्मा भएर जिरीमा धुमधामका साथ होली पर्व मनाइएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनुभयो । होली पर्वको अवसरमा स्लो बाइक रेस र सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो ।

स्लो बाइक रेसमा फुरी शेर्पा प्रथम, नोर्गेन शेर्पा द्धितिय र आङङिमा शेर्पा तृतीय भएका छन् । प्रथम भएका फुरीले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् भने नोर्गेनले ३ हजार र आङङिमाले नगद २ हजार पुरस्कार प्राप्त गरेको युवा सञ्जाल जिरीले जनाएको छ । यसैगरी, होली पर्वको अवसरमा गायक निमा शेर्पा, जिरीको खेलकुद क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेका रोशन श्रेष्ठ र जिरी नगरपालिकाभित्र सामाजिक कार्य गर्दै आएको सरस्वती क्लवलाई सम्मान पनि गरिएको छ ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रममा जिरेल र नेवारी र स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए । जिरीमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सांगितिक कार्यक्रम सहित कार्यक्रमको आयोजनानै गरी होली पर्व मनाइएको युवा सञ्जाल जिरीका अध्यक्ष खड्काले बताउनुभयो ।