images
images

एमाले माओवादी गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँड

  • २३ फाल्गुन २०८०, बुधबार १३:५४

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको कार्यदलको बैठकले चार दलबीच मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको हो । जसअनुसार नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने सहमति भएको छ । जसअनुसार नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्बाधारमन्त्रीको जिम्मेवारी सहित पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्नेछन् । एमाले नेता पदम गिरीले मन्त्री पदको शपथ लिईसकेका छन् । एमालेबाट अब दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा नयाँ गठबन्धन सरकारमा दोहिरिने भएका छन् ।  सत्ता गठबन्धन सरकारमा रहेका उर्जा तथा जलस्रोतमन्त्री शक्ति बस्नेत र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारमा पुन दोहोरिने मौका पाएका हुन् । बालुवाटार स्रोतका अनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुई जनाले पहिलेको मन्त्रालय पाउने सहमति भएको छ ।यस्तै अर्थ मन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउनुहुनेछ भने वरिष्ठ उपाध्यक्ष नारयणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउनुहुने भएको छ ।

रास्वपाले गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय र खेलकुद मन्त्रालय पाउने भएको छ । जसअनुसार रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नुहुने भएको छ भने शिक्षा मन्त्रालय सुमना श्रेष्ठलाई, उपसभापति डीपी अर्याललाई श्रम मन्त्रालय र विराजभक्त श्रेष्ठलाई खेलकुद मन्त्रालय दिने सहमति भएको छ । भागबण्डा टुंगिएसँगै आज साँझसम्म शपथग्रहणको तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ । । सत्ता गठबन्धनमा भएको लामो छलफल र रस्साकस्सीपछि आज मन्त्रालय भागबण्डामा लगभग सहमति जुटेको हो ।