काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी दुई मन्त्रालय लिएर सरकारमा जाने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको नेकपा एसको सचिवालय बैठकले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो । माधवकुमार नेपाल नेतृत्वको समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्काे एक मन्त्रालय लिने भएको छ । समाजवादी उपमहासचिव डा. विजय पौडेलले भने सचिवालय बैठकमा नयाँ गठबन्धनमा मिसिँदै सरकारमा जानेबारे छलफल भइरहेको बताउनुभएको छ । यसअघि तत्कालीन सत्तागठबन्धन सरकारमा समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान कोटेश्वरमा पुगेर समाजवादीका अध्यक्ष नेपालसँग वार्ता गर्नुभएको थियो । वार्तामा भएको सहमतिअनुसार नै समाजवादीले आज सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल भई सरकारमा जाने निर्णय गरेको हो ।










