images
images

फेरि बढ्यो इन्धनको मुल्य, दोलखामा पेट्रोल प्रतिलिटर एक सय ६३ रुपैँया पुग्यो

  • २३ चैत्र २०७८, बुधबार ०६:३३

दोलखा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः पाँच रुपैँयाले बढाएको छ ।

निगम सञ्चालक समितीको हिजो बसेको बैठकले मध्यराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य ५ रुपैयाँले वृद्धि गरेको हो । मुल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६० रुपैयाँ तथा डिजेल र मटितेलको मुल्य १ सय ४३ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको नेपाल आयाल निगमले जनाएको छ । आयाल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मुल्य बढाएको हो ।

यसैबीच, दोलखामा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६३ रुपैँया पुगेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य ५ रुपैँयाले बढाएसँगै जिल्लामा आज पेट्रोल प्रतिलिटर १ सय ६३ रुपैँयामा कारोवार भइरहेको हो । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४६ रुपैँयामा कारोवार भइरहेको छ । यसअघि जिल्लामा पेट्रोल प्रतिलिटर १ सय ५८ रुपैँया र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ४१ रुपैँयामा कारोवार हुँदै आएको थियो । सदरमुकाम चरिकोटमा पेट्रोल १ सय ६३ र डिजेल, मट्टितेल प्रतिलिटर १ सय ४६ रुपैँयामा कारोवार भइरहे पनि सिंगटी, मैनापोखरी, जिरी लगायतका स्थानमा भने ढुवानी भाडाका कारण मुल्य केही बढी पर्ने नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एसोसियस बागमती प्रदेशका संयोजक सुदर्शन कार्कीले जानकारी दिनुभयो ।