जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकामा रिक्त रहेको एक वर्षपछि प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको उमाकुण्ड गाउँपालिकामा केहि दिन अघि नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालय हाजिर भएका हुन् । दोलखा स्थायी घर भएका दिल श्रेष्ठलाई उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामामा कार्यरत श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
मन्त्रालयले उमाकुण्डमा खटाएसँगै श्रेष्ठ केहि दिन अघि कार्यालय हाजिर भएको उमाकुण्ड गाउँपालिकाको कार्यालयले जनाएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिका निमित्तको भरमा चल्दै आएको थियो । केही समयअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका दिपेन्द्र कुमार पैकरालाई पालिकाकै स्वास्थ्य शाखामा कार्यरत अनमी कर्मचारीलाइ जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो । सो क्रममा उमाकुण्ड गाउँपालिकालाई विकास निर्माणको योजना सञ्चालनदेखि भुक्तानीको लागि समेत असहज भएको थियो । त्यसपछि छिमेकी पालिका गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले उमाकुण्ड गाउँपालिकामा समन्वय गरेर कार्य सम्पादन गरिरहेका थिए ।
उमाकुण्डमा यसअघि धमाधम विकास निर्माणका योजनाहरुको काम सम्पन्न गरी भुक्तानी दिने बेला प्रमुख प्रशासकीय अधिकृत नहुदा समस्या भएको थियो । अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृत आएसँगै सो समस्या हट्ने अनुमान छ ।