
काठमाडौं । सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायत सरकारी कागजात बनाउन निर्देशन दिएको छ ।
गृहमन्त्रालय अन्र्तगत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७ सय ४३ वटै वडा कार्यालयका स्थानीय पञ्जीकाधिकारीलाई चार बुँदे सर्कुलर पठाएर यस्तो निर्देशन दिएको हो । विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीकौ थर राखि आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको हो ।
बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्मदर्ता गर्ने समेत सर्कुलरमा उल्लेख छ । जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्ध गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन सरकारले निर्देशन दिएको हो ।