भक्तपुर । पछिल्लो तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु देखिएको छ ।
चैतअघि नदेखिएको बर्डफुलू चैतमा मात्र २३ स्थानमा देखापरेको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दहालले बताए । बर्डफ्लु देखिएका स्थानमा एक लाख चार हजार कुखुरा एवम् हाँस नष्ट गरिएको छ ।
यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा देखिएको बर्डफ्लु यो महिना पाँच जिल्लामा बर्डफ्लु देखिएको हो । डा. दहालका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापाका दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ ।
सुनसरी, झापा, मोरङमा बर्डफ्लुको संक्रमण फैलिएपछि ती जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाईएको महानिर्देशक डा. दहालले बताए ।
बर्डफ्लुका लक्षणहरु
रोगको यकिन नभए पनि रोगबाट हुन सक्ने ठूलो क्षतिबाट बच्न निम्न लक्षण देखिने बित्तिकै नजिकको पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा खबर गर्नु पर्दछ ।
१) अकस्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पक्षीहरू मर्न थालेमा ।
२) पक्षीले स्वाँ–स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल आदि बगाउने गरेमा ।
३) टाउको सुन्निएमा, सिउर -लोती) नीलो रङको भएमा ।
४) फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
५) पक्षघात भएमा ।
६) दाना नखाने, तिर्खाउने गरेमा ।
बर्डफ्लुबाट बच्ने उपाय
१) आफु बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत रहनुपर्दछ, त्यसलाई आफैं टिपेर फ्याँक्नुहुँदैन ।
२) आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरूको छेउछाउमा जान दिनुहुँदैन ।
३) कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुपर्दछ ।
४) टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देखेमा तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गर्नुपर्दछ ।
बर्डफलुसम्बन्धमा बेलैमा सतर्कता अपनाउन सके यसबाट हुने ठूलो नोक्सानीबाट बच्न सकिन्छ । साथै मानव स्वास्थ्यमा पर्न सक्ने क्षतिबाट पनि जोगिन सकिन्छ । त्यसका लागि व्यक्ति स्वयंको तत्परताको बढी महत्त्व हुन्छ ।










