images
images

जिरी नगरपालिकाको १९ करोड बजेट खर्च, मेयर भन्छन्–‘इमान्दारीताका साथ काम गरिरहेका छौं’

जिरी । दोलखाको जिरी नगरपालिकाले चालु वर्षको दोस्रो चौमासिकसम्म करिव १९ करोड बजेट खर्च गरेको छ ।
नगरपालिकाले चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म कुल बजेटको ३१ दशमलव ४७ प्रतिशत अर्थात १८ करोड ९९ लाख ४६ हजार रुपैयाँ बजेट खर्च गरेको हो ।

जिरी नगरपालिकाले सोमवार आयोजना गरेको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले यस्तो जानकारी दिएकी हुन् ।

पूँजिगततर्फ १४ र चालुतर्फ ४० प्रतिशत खर्च

खत्रीका अनुसार पूँजिगततर्फ १४ दशमलव २८ प्रतिशत अर्थात २ करोड ८८ लाख २९ हजार बजेट खर्च भएको भने चालुतर्फ १६ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । चालुतर्फको बजेट खर्च ४० दशमलव ११ प्रतिशत रहेको छ ।

चालु वर्ष जिरी नगरपालिकाको कुल बजेट ६० करोड ३४ लाख ९ हजार ८३६ रुपैयाँ बजेट छ । त्यो मध्ये पूँजिगत बजेट २० करोड १७ लाख ६१ हजार र चालु बजेट ४० करोड १६ लाख ४८ हजार ८३६ रुपैयाँ रहेको छ ।

सत प्रतिशत योजना सम्झौता

नगरपालिकामा चालु वर्ष उपभोक्ता समिति मार्फत संचालन हुने पूर्वाधार विकासतर्फका १४० वटा योजना मध्ये सत प्रतिशत योजना सम्झौता भई कार्यान्वयनमा रहेका छन् । ती मध्ये ४६ वटा योजनाको काम सकिएर अन्तिम भुक्तानी गरी हस्तान्तरण समेत गरिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खत्रीले जेनजी आन्दोलन, त्यसपछि केही समयको अन्यौलता र निर्वाचनका कारण केही योजना ढिलोगरी सम्झौता भए पनि कार्यान्वयनको चरणमा रहेको जानकारी दिएकी छन् ।

मेयरले भने–‘कुनै समस्या भए खवर गर्नु’

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले जिरीको विकास र समृद्धिकालागि आफुहरु इमान्दारपूर्वक लागिपरेको बताए । उनले विकास निर्माण र सेवा प्रवाहमा जनप्रतिनिधि वा कर्मचारीवाट कुनै समस्या भए तत्काल आफुलाई खवर गर्न आग्रह पनि गरेका छन् ।

नगर प्रमुख जिरेलले पूर्वाधार विकास, पर्यटन र कृषिका माध्यमवाट जिरीको समृद्धिको यात्रा तय गरिएको बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पा, एमाले अध्यक्ष टपिन्द्र खड्का, नेकपाका मोहन खड्का र राप्रपाका रामकाजी खड्काले आ–आफ्ना सुझाव दिएका थिए ।

विषयगत प्रमुखहरुले दिए जवाफ

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाहरुलाई जिरी नगरपालिका–१ वडा अध्यक्ष आङपासाङ शेर्पा, लेखा अधिकृत दिनेश बराल, इन्जिनियर कृष्ण ज्ञवाली, योजना शाखा प्रमुख बिमलकुमार दहाल लगायत बिषयगत शाखाका प्रमुखहरुले स्पस्ट पारेका थिए ।

जिरी अस्पतालका विषयमा डाक्टर विजय रिजाल र शान्ति सुरक्षाको विषयमा उठेका सवालमा प्रहरी निरिक्षक विवेक घिमिरेले जवाफ दिएका थिए । कार्यक्रममा जिरेल समाज नेपालका अध्यक्ष हिरा जिरेल, पर्यटन व्यवसायी तेजस्वी बस्नेत, जिरी नगरवासी भोजवहादुर विश्वकर्मा, दिलवहादुर जिरेल, ध्रुवकुमार न्यौपाने, पोखप्रसाद पाठक लगायतले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रम जिरी नगरपालिकाको आयोजना तथा होराइजन मिडिया नेटवर्क र जिरी एफएमको सहजिकरणमा भएको थियो ।