images
images

युरोप, अमेरिकाको रोजगारीः ठगी धन्दा बढ्यो, सचेत रहन श्रम मन्त्रालयको आग्रह

  • २४ बैशाख २०८१, सोमबार १७:४९

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका लगायतका देशहरुमा वैदेशिक रोजगारी दिने प्रलोभनमा ठगी बढेको भन्दै सचेत गराएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्ता मुलुकहरुमा वैदेशिक रोजगारीमा पठाउने भन्दै बढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयको दावि छ । तर, त्यसका लागि मन्त्रालय मात्रै नभएर आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनाएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयले बताएको छ ।

रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।