भक्तपुर । काठमाडौँको इन्द्रचोक,भेडासिंहमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जना पक्राउ परेका छन् ।
वैशाख १७ गते भेडासिंहमा रहेको नैना एन्ड इशान ज्वेलरीमा लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विकेश राजवाहक र अरुण भुजेल छन्।
ज्वेलरीकी सञ्चालक बबिता रौनियार प्रतिकार गरेपछि उनीहरु भागेका थिए। घटनाको अनुसन्धान र खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले पक्राउ गरेको हो। अरुण भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको छ।
महर्जनले लुटपाटको क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलियासमेत परिवर्तन गरेको प्रहरीले जनाएको छ।









