भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने विषय अझै प्रक्रियामै रहेको छ ।
देउवा दम्पतीविरुद्ध गत चैत २४ मा पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
देउवा दम्पती विदेशमै
तर, उनीहरुविरुद्ध रेड नोटिस भने जारी भएको छैन । रेड नोटिस जारी गर्नका लागि इन्टरपोलले थप कागजात माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो ।
देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौंले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा विदेशमै रहेका देउवा दम्पती अहिलेसम्म नेपाल फर्केका छैनन् । निर्वाचनको पूर्वसन्ध्यामा १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा दम्पती त्यहाँबाट हङकङ गएको बताइएको छ ।



हाम्रो अपडेट 






