भक्तपुर । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल गरेका छन् ।
खड्का निवास गोल्फुटारमा तीन नेताबिच करिव डेढ घण्टा छलफल भएको हो । भेटमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।
विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।
सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे नेताहरूलाई जानकारी गराए ।










