images
images

सुन तस्करीमा नयाँ उपाय, कपडामा लेपन गरेर दुबईबाट नेपाल भित्र्याइयो

  • २३ जेष्ठ २०७९, सोमबार १५:३०

काठमाण्डौं । कपडाभित्र पेष्ट बनाएर सुन लुकाएर नेपाल भित्रेका ७ जना पक्राउ परेका छन् ।

प्रहरीले अवैध रूपमा सुन लिएर आएको आरोपमा सात जनालाई पक्राउ गरेको हो । कपडाभित्र पेष्ट बनाएर सुन लुकाएर ल्याउने चिनिया र भारतीय सहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराका प्रकाश घलान, धनुषाका बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत रहेका छन् । उनीहरुको सर्ट, पाइन्ट र अण्डरवेयरको भित्री भागमा लेपन गरिएको धुलो सुन ८ घण्टा भट्टीमा पकाएर संकलन गरिएको छ । भट्टीमा कपडासहित गालेर ८ सय ८६ ग्राम सुन संकलन गरिएको एसएसपी कुँवरले बताउनुभयो ।

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याइरहेको भन्ने सूचना प्रहरीले पाउनसाथ अनुसन्धानको टोली खटिएको थियो । सो क्रममा सुन सहितका व्यक्तिहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ८८६ ग्राम सुन बरामद गरेको छ ।