दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवकले विश्व साईकल यात्रा सुरु गरेका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका साईकल यात्री अभिनय कार्कीले आजबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । कार्कीले दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोबाट यात्रा सुरु गरेका छन् ।
प्रतिनिधिसभाका सांसद गंगा कार्की ‘विश्व’ ले राष्ट्रिय झण्डा प्रदान गरेर साइकल यात्री कार्कीलाई विश्व साइकल यात्राका लागि विदाइ गर्नुभयो । कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठ लगायत राजनीति दलका नेताहरु प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा सामाजिक संघसंस्थाका प्रतिनिधि सातदोबाटो पुगेका थिए ।
यात्रा सुरु गर्न अघि साइकल यात्री कार्कीलाई बुबा कुमार कार्कीले आर्शिवाद दिएका थिए भने कार्कीले जमिनलाई ढोगेका थिए । जलवायु परिवर्तनले वातावरणमा पु¥याएको असरको विषयमा जनचेतनामुलक सन्देशसहित विश्व साईकल यात्रा गर्न लागेको साईकल यात्री कार्कीले बताएका छन् । मुलुकका १ सय ५० भन्दा बढि देशमा साईकल यात्रा गर्ने तयारी गरेका कार्कीले यात्राका लागि करिव १० वर्ष लाग्ने अनुमान गरेका छन् ।
उनले नेपालपछि थाइल्याण्ड, मलेसिया र सिंगापुरको यात्रा हुने जानकारी दिए । कार्कीले यसअघि २०७७ र २०७८ सालमा मेची–महाकाली पैदल यात्रा तथा साईकल यात्रा मार्फत नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । यसअघि दोलखाकै भीमेश्वर नगरपालिकास्थित मकैबारीका पुस्कर शाहले पनि विश्व साईकल यात्रा गरेका थिए ।











