काठमाडौँ । शिक्षकको सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने व्यवस्था गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा नियमावली संशोधन गरेर यस्तो व्यवस्था गर्दै कानुनी रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएकी छिन् । शिक्षा नियमावलीमा हाल शिक्षक सरुवाका लागि स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सहमति चाहिने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिको सहमति लिने प्रक्रिया झन्झटिलो र आपरदर्शी भएको भन्दै मन्त्रालयले विद्यालयका प्रधानध्यापक तथा स्थानीय तहको सहमतिमा सरुवा गर्न मिल्ने गरि नियमावली संशोधन गर्न लागेको हो ।
मन्त्रालयले १४ जेठमा जारी गरेको शिक्षक सरुवासम्बन्धि निर्देशिका २०८१ मा नै यो विषय समेट्न खोजेपनि नियमावली संशोधन गर्नुपर्ने भएपछि अहिले आएर संशोधनको निर्णय भएको हो । सो नियमावली संशोधन मन्त्रिपरिषदबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।










