
जिरी (दोलखा) । अविरल वर्षासँगै पानीको सतह बढेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
तामाकोशी नदीको जलसतह बढ्दा आयोजनाको उत्पादननै बन्द गर्नुपर्ने अवस्था आएको हो । पानीको जलसतह २५० घनमिटरभन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको हो । गयराती आयोजनाको जलसतह २८५ घनमिटरसम्म पुगेको थियो । माथिल्लो तामाकोशी आयोजनाका प्लान्ट मेनेजर पूर्ण गोपाल रञ्जितले नदीमा पानीको वहाव उच्च भएको र जल सतह समेत बन्द भएका कारण गय राति साँढे १ बजेवाट आयोजनाको बिधुत उत्पादन बन्द गरिएको जानकारी दिनुभयो । बाढीका कारण जलसतह बढेपछि माथिल्लो तामाकोशीका सवै ढोकाहरु खोलिएका छन् ।
माथिल्लो तामाकोशीले हिजोसम्म ६ वटै युनिटवाट पूर्ण क्षमता अर्थात ४५६ मेगावाट बिधुत उत्पादन गरिरहेको थियो । प्लान्ट मेनेजर रञ्जितका अनुसार आयोजनाको बाँधस्थलमा जलसतह अझै घटेको छैन । जलसतह घटेर सामान्य अवस्थामा आएपछि मात्रै पुनः बिधुत उत्पादन सुचारु गरिने छ । उहाँले तामाकोशीमा आएको बाढीका कारण आयोजनाको टेलरेस क्षेत्रमा कटान भएको बताउनुभयो । तामाकोशी नदीले अहिले गोंगरदेखि तल्लो क्षेत्रमा कटान तीव्र पारेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ ।
अविरल वर्षापछि देशभर आएको ठूलो बाढीका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित ७ जलविद्युत आयोजनाको विजुली उत्पादन ठप्प भएको छ ।
आवरण तस्वीरः तामाकोशी नदीमा आएको बाढीले माथिल्लो तामाकोशी आयोजनाको टेलरेस क्षेत्रका गरेको कटान ।