images
images

‘जिरी दोलखाको गहना हो, म टल्काउने प्रयास गर्छु’–मन्त्री काफ्ले

जिरी (दोलखा) । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जिरी दोलखा जिल्लाको गहना भएको भन्दै आफुले ‘पालिस लगाएर टल्काउने’ प्रयास गर्ने बताउनुभएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएपछि पहिलो पटक जिरी आउनुभएका काफ्लेले जिरी जिल्लाकै गहनाको रुपमा रहेकोले आफ्नो कार्यकालमा आर्थिक उपार्जनसँग जिरीलाई जोड्ने बताउनुभएको हो । उहाँले जिरीमा धेरै विकास भएपनि अर्थतन्त्रसँग कम जोडिएको भन्दै राज्यको नीति, नियम र कानुन अनुसार गर्न सक्ने विकासमा ध्यान दिने बताउनुभयो । नेपाली कांग्रेस जिरी नगरसमितिले आज विहान आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री काफ्लेले जनातालाई धेरै आवश्वासन नदिने तर, निर्वाचनमा गरेका बाचालाई मध्यनजर गर्दै काम गर्ने बताउनुभयो । उहाँले निर्वाचनका बेला गरेको प्रतिवद्धतालाई पुरा गर्न लागिपर्ने भन्दै मन्त्री हुने वित्तिकै आश्वासन मात्रै नबाँड्ने बताउनुभयो । जिरीलाई आर्थिक विकासले जोड्ने बताएपछि उहाँले जिरीको पर्यटन र विकाससँग जोडिएको प्रदेशको गौरवको आयोजना जिरी ताल निर्माणबारे केही उल्लेख गर्नुभएन । मन्त्री काफ्लेले स्वर्गीय नेता भीम बहादुर तामाङलाई स्मरण गर्दै उहाँकै मार्गदर्शनमा हिड्ने बताउनुभयो ।

कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पाको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा कांग्रेस दोलखाका पूर्व सभापति रुद्र बहादुर खड्का, नेता तारा कुमार खड्का लगायतका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो ।