चितवन । चितवनको सिमलताल दुर्घटनामा बेपत्ता भएका व्यक्तको शव नभेटिएपनि बीमा रकम उपलब्ध हुने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको हो । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको छ ।
अध्ययन समितिका संयोजक छवि रिजालले बीमा रकमका लागि पोस्टमार्टमको रिपोर्ट आवश्यक पर्ने भएपनि सिमलताल दुर्घटनाका बेपत्ताको हकमा सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिइएको बताउनुभयो । यात्रुको दुर्घटना बीमा ५ लाख रुपैयाँको हुने गरेको छ ।
समितिले सिमलताल दुर्घटनामा अझै ४० जना बेपत्ता रहेको जनाएको छ । २५ जनाको शव भेटिएको र तीमध्ये १९ जनाको सनाखत भएको रिजालले बताउनुभयो ।