images
images

दोलखाको वैतेश्वरकी एक महिलालाई ‘स्क्रब टाईफस’ रोगको संक्रमण

दोलखा । दोलखाकी एक महिलामा स्क्रब टाईफस रोगको संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार बैतेश्वरकी ४४ वर्षिया एक महिलामा स्क्रब टाईफस देखापरेको हो । साउन १ गते बैतेश्वर अस्पतालमा रगत परीक्षण गर्दा स्क्रव टाईफस संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत सुजिना तमाङले जानकारी दिनुभयो । अधिकृत तमाङका अनुसार संक्रमित ती महिला बैतेश्वर अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेकी छन् ।

स्क्रव टाईफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रव टाईफसको संक्रमण भएमा कडा ज्वरो आउने, आँखा रातो हुने, लगातार टाउको दुखिरहने, पेट दुखाई र झाडापखालाले सताउने, स्वास फेर्न समस्या हुने, जोर्नि र मांशपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिने गर्दछ ।

२०७२ सालको विनाशकारी भूकम्प पछि नेपालमा यो रोग देखा परेको थियो । यस रोगलाई महामारीको रुपमा फैलिन नदिनका लागि आफ्नो घर वरपर फोहोर र झाडी सफा गर्ने तथा मुसाको नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालय दोलखाका प्रमख उत्तमराज खनालले सुझाव दिनुभएको छ ।