images
images

हिमाली जिल्ला दोलखामा डेंगु, ७ जना संक्रमित

दोलखा । दोलखामा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार साउन महिना सुरु भए यता ७ जनामा डेंगु देखापरेको हो । जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा ३/३ जना र जिरी नगरपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । डेंगु संक्रमितहरुको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षणपछि घरमै उपचार भइरहेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखामा गत आर्थिक वर्ष ८० जनामा डेंगु संक्रमण देखिएको थियो । जिल्लामा ४० जना पुरुष र ४० जना महिलामा डेंगु संक्रमण देखिएको हो । गत वर्ष बैतेश्वर गाउँपालिकामा सबैभन्दा बढी ४० जनामा संक्रमण पुष्टि भएको थियो । जसअनुसार बैतेश्वरमा २४ जना महिला र १६ जना पुरुष गरी ४० जना डेंगु संक्रमित भएका थिए । गत वर्ष बैतेश्वरमा डेंगु संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, भीमेश्वर नगरपालिकामा गत वर्ष २७ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । भीमेश्वरमा १५ जना पुरुष र १२ जना महिला गरी २७ जनामा संक्रमण देखिएको थियो । गत वर्ष गौरीशंकर, जिरी, तामाकोशी गाउँपालिकामा ३/३ जनामा, विगुमा २ र मेलुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले जानकारी दिनुभयो । जिल्लाको ९ स्थानीय तहको तुलनामा गत वर्ष भीमेश्वर र बैतेश्वरमा संक्रमितको संख्या बढी र शैलुङमा संक्रमितको संख्या शुन्य देखिएको थियो ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । पानीको ट्याङकी, दहीको कतारो, बाल्टिन, ड्रम आदीमा बिर्को लगाएर मात्रै राख्नुपर्छ । घरआँगन सफा राख्ने, पानी जम्ने खाल्डा पुर्ने, गमला, बरण्डा, छत आदीमा पनि पानी जम्न नदिने गर्दा लामखुट्टे फैलिन पाउँदैन ।

डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने गर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला राख्नु हुँदैन । साथै गमला लगायतमा समेत पानी जम्न नदिने र कुनै पनि स्थानमा खानेपानीको पाइप चुहिने र पानी जम्ने भइरहेको छ भने त्यसको मर्मत गर्नुपर्छ । यसका लागि पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्ने मल्हमको प्रयोग गर्ने, झ्याल र ढोकामा जाली लगाउने र झुलभित्र सुत्ने गर्नुपर्छ ।