काठमाडौँ । आजबाट टिकटकमाथिको प्रतिवन्ध पूर्ण रुपमा हटेको छ ।
सरकारले सबै ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिवन्ध हटाउन निर्देशन दिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणले आज सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णय बमोजिम टिकटकमा लगाईएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । यो सँगै टिकटकमाथिको प्रतिवन्ध पूर्ण रुपमा हट्ने भएको हो । तीजकैै दिन प्रतिवन्ध हटेपछि तीज मनाईरहेका चेलीबेटीहरु टिकटकमा पनि रमाउन थालेका छन् ।
प्रतिवन्ध हटाउने विषयमा छलफलका लागि यसअघि टिकटकका प्रतिनिधि काठमाडौँ आएका थिए । सर्तसहित प्रतिवन्ध हटाउने सरकारको निर्णयपछि टिकटकको सिंगापुरस्थित कार्यालयबाट तीन जना प्रतिनिधि काठमाडौँ आएका थिए । ती प्रतिनिधिले सरकारले राखेका सर्तहरु पुरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई सरकारको निर्णय जानकारी गराउँदै टिकटकमाथिको प्रतिवन्ध हटाउन निर्देशन दिएको थियो ।
सरकारले सामाजिक सद्धभाव प्रभावित बनेको भन्दै गत कात्तिकमा टिकटक बन्द गरेको थियो । त्यसको करिव साढे ९ महिनापछि भदौ ६ गते बसेको बैठकले शर्तसहित टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेको थियो ।