काठमाडौं । आजदेखि खसीबोका र च्याङग्राको बिक्री वितरण खुला भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री वितरण खुला गरेको हो । कम्पनीले प्रतिकेजी खसीबोकाको ६ सय ७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६ सय ६० रुपियाँ बिक्री खुला गरेको छ । यस्तै च्याङग्रा प्रतिकेजी एक हजार २ सय ३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २ सय २० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
हिजोसम्म २ सय ८ खसीबोका र तीन सय च्याङग्रा भित्रिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । कम्पनीले दसैँमा खसीबोका १५ सय र च्याङग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङग्रा खरिद गरेर बिक्री वितरण गर्ने गर्छ ।