दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु भएको छ ।
तामाकोशी गाउँपालिका ७ हाँवा स्थित जरेपानीकी २९ वर्षीया बिमला सुनुवारको श्रीमानको कुटपिटबाट मृत्यु भएको हो । सुनुवार आज बिहान आफ्नै घरमा मृत फेला परेपछि घटनाको अनुसन्धानका क्रममा श्रीमानको कुटपीटबाट मृत्यु भएको खुलेको दोलखा प्रहरीले जनाएको छ ।
मृतक विमलाको शरीरमा चोटपटक देखिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा गएराति श्रीमानले मदिरा सेवन गरि आपसमा विवाद हुँदा श्रीमतीमाथि कुटपीट गरेको पाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमानको कुटपीटबाट गम्भीर घाईते भएकी बिमलाको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो ।
कुटपीटमा संलग्न उनका श्रीमान झपटबहादुर सुनुवारलाई पक्राउ गरिएको ईन्स्पेक्टर अधिकारीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।