images
images

विद्युत गृह बन्द भएपछि अपर तामाकोशीले दैनिक ४ करोड गुमाउँदै, डिस्यान्डरको पानी ‘थ्रु’ गरियो

जिरी(दोलखा) । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन सुरु गर्न तयारी थालिएकोे छ ।

पहिरोले क्षतिग्रस्त ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी (डिस्यान्डर)को पानी ‘थ्रु’ गरिएको हो । डिस्यान्डरबाट ढुंगा र लेदो निकाल्न सुरु गरिएको अपर तामाकोशी आइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । यही असोज १२ गते डिस्यान्डरमा ठूलो ढुंगा खसेपछि हाल आयोजना बन्द छ ।

विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनीले दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ । विजुली उत्पादन तथा विक्रीबाट मासिक एक अर्ब बढी आम्दानी गर्ने गरेको अपर तामाकोशीको उत्पादन अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझबाट बन्द भएको थियो । यही बेला चारवटा ढोका खोलेर डिस्यान्डरको पानी निकालिएको कम्पनीले जनाएको छ ।

अपर तामाकोशी जलविद्युत केन्द्रको डिस्यान्डरमा मात्रै नभई बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष र बाँधबाट डिस्यान्डरसम्म पानी प्रवाह गर्ने भूमिगत नहर (कल्भर्टमा) समेत क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । डिस्यान्डरमा रहेका दुई वटा पोखरीमा लेदो, ग्रेगान र ठूल्ठूला ढुंगा थुप्रिएका छन् ।

कन्ट्रोल रूममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी ४ जनाको मृत्यु भएको थियो ।गत मंगलबार उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोली विज्ञसमूहसहित आयोजनास्थलमा पुगेर पहिरोले पुर्याएको क्षतिका बारेमा जानकारी लिएको थियो ।

टोलीले संरचनाहरुको मर्मत सम्भार गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पहरुबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो ।