दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिरको थुम्की संरक्षणको सुरुवात गरिएको छ ।
भूकम्पको बेला चर्किएर भासिएको थुम्कीमा अहिले फलामको बिम राखेर संरक्षणको काम भैरहेको हो । कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर थामीले पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिरको पुर्ननिर्माणको काम भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल थुम्कीको छेउ किनारसम्म फलामको बिम राखेर संरक्षणको काम भइरहेको छ ।
कालिञ्चोक मन्दिर क्षेत्रको पुननिर्माणका लागि एनपिएस/राज जेभी निर्माण कम्पनिसँग २०७८ साल चैत्रमा सम्झौता भएपनि अझै काम सम्पन्न हुन सकेको छैन । हाल केबलकार स्टेशनदेखि मन्दिरसम्म फराकिलो बाटो निर्माणको काम भैरहेको छ भने मन्दिरको थुम्कोको अघिल्तिरको भागमा फलामको बिम राख्ने काम धमाधम भैरहेको निर्माण कम्पनिका ठेकेदार सुनिल शिल्पकारले जानकारी दिनुभयो । उहाँका अनुसार पुर्ननिर्माण कार्य अन्तर्गत केबलकारको स्टेशनदेखि मन्दिरसम्मको सिँढी निर्माण गर्ने, मन्दिर परीसरमा दायाँबायाँ रेलिङ राख्ने र जोखिमपूर्ण भागहरुको भुईंमा समेत फलामको बिम राख्ने लगायतका काम हुनेछन् । मन्दिर पुर्ननिर्माणको काम आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तीन हजार ८ सय ४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवतीको मन्दिर परिसर २०७२ सालको भूकम्पका कारण खतरामा परेको हो । मन्दिर क्षेत्र हाल पुर्ननिर्माणको चरणमा रहेकाले वरपर बलियो घेरावार नगरिएका कारण अझै पनि साना बालवालिकालाई थुम्कीमा लैजाँदा भने अभिभावकले बिशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

कालिञ्चोक मन्दिरमा दिनहुँ सयौँको संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् । तीन हजार ८ सय ४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवतीको मन्दिर परिसर २०७२ सालको भूकम्पका कारण खतरामा परेको हो । भूकम्पका बेला मन्दिरको दायाँ र बायाँतर्फको भाग उप्किएर झरेपछि वरिपरि काठ र जस्ताको टेको लगाएर राखिएको थियो । मन्दिरको दायाँबायाँ भिरालो रहेको र परिसर आसपास भूकम्पले क्षति पु¥याउँदा दर्शनार्थीहरुले निकै जोखिम मोलेर दर्शन गर्दै आएका थिए । यसअघि जस्ता र काठको टेको मात्रै राख्दा निकै जोखिम रहेको सो स्थानमा दर्शनार्थीको ठूलो भिड हुँदा सो टेको भाँचिएमा जुनसुकै समय ठुलो दुर्घटना हुने खतरा रहेको थियो ।
मन्दिर क्षेत्र हाल पुर्ननिर्माणको चरणमा रहेकाले वरपर बलियो घेरावार नगरिएका कारण अझै पनि साना बालवालिकालाई थुम्कीमा लैजाँदा भने अभिभावकले बिशेष ख्याल गर्नुपर्ने देखिन्छ । कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न र रमणीय प्राकृतिक वातावरणमा रमाउन वर्षेनी हजारौं पर्यटक पुग्ने गर्दछन् ।



सिर्जना थापा खड्का 






