images
images

महासमिति सदस्यका लागि दोलखा कांग्रेसमा २२ जनाको उम्मेदवारी

  • २० कार्तिक २०८०, सोमबार १७:३१

जिरी (दोलखा) । नेपाली काँग्रेस दोलखाको महासमिति सदस्यका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोलखामा कांग्रेस महासमिति सदस्यको ११ पदका लागि २२ जनाको उम्मेदवारी परेको हो । दुई महिला सहित ७ जना खुलाबाट र ४ जना क्लस्टरबाट महासमिति सदस्य चयन हुने व्यवस्था छ । क्लस्टरवाट जनजाति महिला र खस आर्य महिला सहित दुई महिला, पुरुष र अल्पसंख्यकवाट गरी ४ जना चुनिनु पर्नेछ । २३ जना महाधिवेशन प्रतिनिधि भएकोमा २२ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस दोलखाको महासमिति सदस्य चयनमा सहमति जुट्न नसकेपछि आज मनोनयन दर्ता भएको हो ।
जसमा महासमिति सदस्य प्रत्यक्षतर्फ ५ जनाको कोटामा ८ जनाको उम्मेदवारी परेको छ । महासमिति सदस्य प्रत्यक्षतर्फ भीमेश्वर नगरपालिकाबाट इश्वर नारायण मानन्धर, जयराम श्रेष्ठ, प्रभुराम श्रेष्ठ र बाबुकाजी बस्नेत, शैलुङ गाउँपालिकाबाट कुमार अधिकारी, ताराबहादुर कोइराला, विगुका खुबराज आचार्य र कालिञ्चोकका सन्तोष पाण्डेको उम्मेदवारी परेको छ ।

यसैगरी, महासमिति सदस्यको प्रत्यक्षतर्फ २ महिलाको लागि ४ जनाको उम्मेदवारी परेको छ । कालिञ्चोकबाट गीता शिवाकोटी, मेलुङबाट तारा थपलिया, शैलुङकी सुनिता नेपाली र तामाकोशीकी सृजना खड्का सुवेदीले मनोनयन दर्ता गराएका छन् । खस आर्य खुल्लामा एक जनाको लागि भीमेश्वरका दामोदर कार्की, तामाकोशीका पुष्करकुमार खड्का र भवेन्द्र कार्की सहित ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खस आर्य महिलातर्फ पनि एक जनाको लागि २ जनाको दावी छ ।

सो पदका लागि शैलुङकी उर्मिला कार्की र बैतेश्वरकी रोचना उप्रेतीको उम्मेदवारी परेको हो । यसैगरी आदिवासी/जनजाति खुल्ला र आदिवासी/जनजाति महिलाका लागि एक÷एक जनाको कोटामा ५ जनाको उम्मेदवारी परेको छ । खुल्लामा बैतेश्वरका चरित्रकुमार लामा (गौरव), भीमेश्वरका च्याङा शेर्पा र विगुका हस्तबहादुर थामी तथा महिलामा विगुकी छिरिङ डोल्मा शेर्पा र भीमेश्वरकी मोतिमाया मोक्तानको उम्मेदवारी परेको छ ।

हिजो निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । उम्मेदवारी दर्तासँगै महासमिति सदस्यका लागि नेताहरुले दौडधुप तीब्र बनाएका छन् ।

फोटो फाइलः