गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पदमुक्त हुने भएका छन् ।
मनाङेलाई सर्वाेच्च अदालतले पनि दोषी ठहर गरेपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनी पदमुक्त हुने भएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा ऐनको दफा १६ मा सदस्य पदमा निर्वाचित कुनै व्यक्ति कानुनअनुसार अयोग्य ठहर भएको खण्डमा सांसदबाट पदमुक्त हुने उल्लेख छ । सो दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले समबन्धित व्यक्तिलाई दिनुपर्छ भने पदमुक्त भएको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित गरिनेछ ।
गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका सांसद मनाङेलाई हिजो सर्वाेच्च अदालतले पनि उच्च अदालत पाटनको फैसला सदर गर्दै दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद सजायको फैसला भएको छ । तर मनाङेले अब २८ महिना मात्रै सजाय भुक्तान गर्नुपर्नेछ । उनले यसअघि नै पटक पटक गरि ३२ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन् । मनाङेले यसअघि एक पटक दुई वर्ष र अर्काे पटक ८ महिना गरि ३२ महिनाको कैद भुक्तान गरिसकेको कानुन व्यवसायी दीपकमणी निरौलाले बताएका छन् ।
दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्धा चलेको २० वर्षपछि हिजो अन्तिम फैसला भएको हो ।