काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
आफ्नो जापान भ्रमण विवादमा परेपछि उनले आज मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् । आफ्नो नीजी जापान भ्रमणको विषयलाई लिएर टीकाटिप्पणी बाहिर आएको भन्दै उनले पदमा बसिरहन उचित नलागेको भन्दै राजीनामा दिएका हुन् ।
एमालेबाट निर्वाचित अधिकारी २०८१ साल जेठ ४ मा आन्तरिक मामिलामन्त्री भएका थिए । उनले कात्तिक ११ देखि कात्र्तिक १५ गतेसम्म जापान भ्रमण गरेका थिए । जापान भ्रमणका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मौखिक जानकारी गराए पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थिएन ।
आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी दलालको फन्दामा परे । आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किए । हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आए । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए ।
गिरोहको जालमा परेको थाहा पाएपछि झस्किए अधिकारी
तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचय पत्र थियो । मन्त्रालयको परिचय पत्र बोकेका तीन जनालाई सोधीखोजी गर्दा टोकियोमा पुगेपछि नफर्किने जवाफ दिए । कुरा बुझ्दा अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान र्पुयाउन लागेको थाहा पाएपछि अधिकारी झस्किए ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो । उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए ।
२५ अक्टोबरमा भिसा लागेपछि २७ अक्टोबरमा जापानका लागि उडेको मन्त्री अधिकारीले बताएका छन् । टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए ।
टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा नगएर आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किएका थिए । नेपालमा सँगै फर्काएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको मन्त्री अधिकारीले बताए । तीन जनालाई जापान लैजाने भनेर पैसा पनि उठाएको पाइएको र हङकङबाटै नेपाल प्रहरीको बिशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ छ ।
उनले आज पदबाट राजिनामा दिँदै मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी सबै विवरण सुनाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफूलाई ‘मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको तर थाहा पाएपछि विमानस्थलबाटै फर्केको’ गम्भीर अभिव्यक्ति दिएका हुन् ।