जिरी (दोलखा) । दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि गठबन्धन दलका नवनिर्वाचित सांसद मतदाताहरुलाई धन्यवाद दिन गाउँ–गाउँमा पुगेका छन् ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेकपा माओवादी केन्द्रका गंगा कार्की र प्रदेशसभा १ बाट निर्वाचित नेपाली कांग्रेसका कुन्दनराज काफ्ले मतदाताहरुलाई धन्यवाद दिन गाउँ–गाउँ पुगेका हुन् । नवनिर्वाचित कार्की र काफ्लेले आज बिहानैदेखि गाउँ–गाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद दिइरहेका छन् । उनीहरुले सम्पुर्ण मतदाता, जितका लागि साथ दिने नेपाली कांग्रेस तथा गठबन्धन दलका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई विभिन्न स्थानमा निमन्त्रण गरी धन्यवाद दिएका हुन् । मतपरिणाम सार्वजनिक भएसँगै हिजो आफ्नो पक्षमा जित परेपछि त्यसको भोलीपल्ट अर्थात आजदेखिनै गठबन्धनका नवनिर्वाचित सांसद र नेता कार्यकर्ताहरु जनताको घरआँगनमा पुग्न थालेका छन् ।
आज प्रतिनिधिसभा सदस्य कार्की र प्रदेशसभा सदस्य काफ्लेले बैतेश्वर गाउँपालिकाको नाम्दु, मैनापोखरी, खावा, जिरी नगरपालिकाका मतदाताहरुलाई धन्यवाद दिइसकेका छन् भने अहिले माली, श्यामा र पुम्पाका मतदाताहरुलाई धन्यवाद दिन उनीहरु त्यसतर्फ लागेका छन् । उनीहले कार्यक्रमनै बनाएर ४ दिन अर्थात मंसिर २३ गतेसम्म जिल्लाभर धन्यवाद कार्यक्रम लिएर जाने योजना बनाएका छन् ।
जसअनुसार भोली उनीहरुले गौरीशंकर गाउँपालिकाको झ्याकु, सर्सेपु, पाल्दुङ पोखरी, तिनेखु, सुरी देवीथान, हुलाक, जयन्तीपुर डाडा, मार्बु, सिकपासा, खारे, जगत र सिंगटीका मतदाताहरुलाई धन्यवाद दिनेछन् भने पर्सि मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिकाका मतदाताहरुलाई विभिन्न स्थानमा पुगेर धन्यवाद दिने कार्यक्रम रहेको गठबन्धन दलले जनाएका छन् ।