काठमाडौं । रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
आज जिल्ला प्रहरी परिसर टेकुले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् । उनीहरु यही मंसिर १४ र १८ गते पक्राउ परेका हुन् । यद्धपी प्रहरीले उनीहरुको ठेगाना भने खुलाएको छैन । उनीहरूको साथबाट प्रहरीले रुसी सेनामा पठाउन तयारी गरिरहेको अन्य नेपालीहरूको पासपोर्ट, पैसासहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुकोे साथबाट ४३ वटा पासपोर्ट नियन्त्रणमा लिइएको छ ।
साथै, पक्राउ पर्ने सुजता दाहालको कार्यालयबाट १४ लाख र ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख रुपैयाँ बरामद गरिएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन आग्रह गरेको छ । युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार दोलखाको मेलुङ गाउँपालिका–६ स्थित सुनारपानीका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका पितम कार्की, इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन् ।