images
images

पत्रकार महासँघको निर्वाचनमा ६ संगठनको संयुक्त प्यानलबाट गिरीको उम्मेदवारी

काठमाडौँ । पत्रकारका ६ संगठनले नेपाल पत्रकार महासँघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएको छ ।

महासँघको आगामी २८ गते हुने निर्वाचनका लागि प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गिरीको नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी दर्ता गरिएको हो । संयुक्त प्यानलबाट अध्यक्षमा गिरी, उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्षमा सुवास शाह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष गिरीको प्रस्तावकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुसापकोटा जुगल, र समर्थकमा समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणी सुवेदी रहेका छन् ।
यस्तै, खुला सचिवमा उत्तर विष्ट, मधेशी सचिवमा सिर्जना झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी/जनजाती सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणी दाहालको मनोनयन दर्ता भएको छ ।

गिरीको नेतृत्वमा प्रेस सेन्टर, समाजवादी प्रेस सङगठन, नेपाल क्रान्तिकारी प्रेस सङगठन, जनपत्रकार सङगठन, प्रगतिशील पत्रकार सङगठन र प्रेस मञ्च नेपालले संयुक्त प्यानल बनाएका हुन् ।

सत्तापक्ष निकट पत्रकार सङगठन प्रेस युनियन र प्रेस चौतारीले भागबन्डा टुङग्याएपछि विपक्षी गठबन्धनबाट प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गिरी नेतृत्वको संयुक्त प्यानल महासंघको निर्वाचनमा सहभागि हुने भएको हो ।