images
images

एमालेको ६१ जिल्लामा आज अधिवेशन हुँदै, १६ जिल्लामा स्थगित

  • २३ पुष २०७८, शुक्रबार ०३:३२

काठमाडौं । नेकपा एमालेले आज देशभर जिल्ला अधिवेशन गर्ने भने पनि ६१ जिल्लामा मात्रै अधिवेशन हुने भएको छ । आन्तरिक विवाद र तयारी नपुग्दा १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

प्रदेश २ का सात जिल्लामा आन्तरिक विवादका कारण आज अधिवेशन नहुने भएको छ । सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्सा जिल्लाको अधिवेशन रोकिएको एमालेले जनाएको छ । प्रदेश २ अन्तर्गत सप्तरीको मात्रै जिल्ला अधिवेशन हुँदैछ । संखुवासभा र रोल्पाको पनि जिल्ला अधिवेशन स्थगित भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, मुगु, हुम्ला, कालिकोट र बझाङमा प्रतिकुल मौसमका कारण अधिवेशन स्थगित भएको एमालेले जनाएको छ । स्थगित भएको जिल्लाको अधिवेशनको मिति पछि तय गरिने छ ।

आज हुने ६१ जिल्लाको जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल माध्यमवाट उद्घाटन गर्ने कार्यक्रम छ । विहान ११ बजेवाट सुरु हुने जिल्ला अधिवेशनको सवै तयारी पूरा भएको एमालेले जनाएको छ । गत मंसिरमा १० औं महाधिवेशन सम्पन्न गरेको एमालेले एकैसाथ जिल्ला अधिवेशन गर्न लागेको हो । जिल्ला अधिवेशन सकिएलगै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशन गर्ने तयारी छ ।

पदाधिकारी र सदस्यकालागि तोकियो मापदण्ड

एमालेले जिल्ला नेतृत्व पनि सर्वसम्मत गर्न निर्देशन दिएको छ । यद्धपि आकाँक्षि धेरै देखिएका कारण अधिकाँश जिल्लामा सहमतिको सम्भावना कम रहेको बताईएको छ । एमालेमा विभाजनको असर रहेका बेला निर्वाचन प्रक्रियामा गए पार्टीलाई थप असर गर्ने भन्दै पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न भनेका छन् । एमालेले जिल्लाको पदाधिकारी र सदस्यमा उम्मेदवार बन्नका लागि योग्यता पनि निर्धारण गरेको छ । संगठन विभाग प्रमुख खगराज अधिकारीले हस्ताक्षर गरेर सवै जिल्लामा एकैसाथ पठाईएको पत्रमा उम्मेदवारको मापदण्ड निर्धारण गरिएको छ ।

एमालेले जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी हुनकालागि कम्तीमा दुई कार्यकाल जिल्ला कमिटीमा बसेर बाम गरेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनु पर्ने मापदण्ड बनाएको छ । जिल्ला कमिटीको सदस्य बन्नकालागि जिल्लाको विभाग वा एक तह मुनिको पार्टी कमिटीमा एक कार्यकाल पूरा गरेको हुनु पर्नेछ ।