images
images

एमाले दोलखाको जिल्ला अधिवेशन प्रतिनिधि दुर्घटनामा परी गम्भिर घाईते

  • २३ पुष २०७८, शुक्रबार ०७:१२

जिरी (दोलखा) । नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा सहभागी हुन आउने क्रममा एक महिला प्रतिनिधि सवारी दुर्घटनामा परी गम्भिर घाईते भएकी छिन् ।

दोलखाको पर्यटकीय नगरी जिरीवाट सदरमुकाम चरिकोट आउँदै गरेकी एमाले जिल्ला अधिवेशन प्रतिनिधि सुन्तली सुनुवार स्कुटर दुर्घटनामा परी घाईते भएकी हुन् । श्रीमान् कमल सुनुवारको साथमा जिरीवाट चरिकोट आउँदै गरेकी सुनुवारलाई लामोसाँगु जिरी सडक अन्तर्गत जिरी नगरपालिका ६ को बासा भन्ने ठाउँमा आज विहान ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट उनी गम्भिर घाईते भएपनि श्रीमान्को अवस्था भने सामान्य रहेको छ ।

दुर्घटनामा घाईते भएकी एमाले जिल्ला अधिवेशन प्रतिनिधि जिरी नगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् । घाईते सुनुवारको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । उनलाई मैनापोखरीस्थित दाहाल मेडिकलमा सामान्य उपचार गरी थप उपचारकालागि एम्वुलेन्स मार्फत काठमाण्डौं लगिएको छ । बागमती प्रदेश ०२–०२४ प–३०२७ नम्बरको स्कुटरमा यात्रा गरिरहेकी सुनुवारलाई बिपरित दिशावाट आईरहेको बा ३ क २३३३ नम्बरको महेन्द्र निसान ट्रकले ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिएर भागेको सो ट्रकलाई प्रहरीले जिरीकै बुद्धपार्कमा फेला पारेको छ भने चालक फरार रहेको र खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायव निरिक्षक (सई) इन्द्रदेव सिंहले जानकारी दिनुभयो ।