
जिरी (दोलखा) । बागमती प्रदेशका सांसद उर्मिला सुनुवार आफु सांसद बनेपछि गृहनगर जिरीको गाउँबस्ती पुगेकी छन् ।
नेकपा एमालेबाट बागमती प्रदेशसभामा सभानुपातिक सांसद बनेर सपथ ग्रहणपछि सुनुवार पहिलो पटक जिरी नगरपालिका र गाउँबस्ती सम्म पुगेकी हुन् । उनी जिरीको वडा नम्बर १ देखि ४ सम्म पुगेकी छन् । सुनुवार जिरी नगरका नगरप्रमुख मित्र जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतका जनप्रतिनिधि र जिरी नगरकमिटीका अध्यक्ष केशव कुमार कार्की सहितका टोलीलाई सँगै लिएर गाउँघर पुगेकी हुन् ।
‘जनतासँग जनप्रतिनिधि भेटघाट’ अभियानमा पौष २२ गतेदेखि २५ गतेसम्मका लागि निस्किएपनि वडा नम्बर १ देखि ४ सम्म मात्रै पुगेर बाँकी वडाका कार्यक्रमलाई थाती राखेर आज फर्किएको सांसद सुनुवारले बताएकी छन् । उनले अभियानका क्रममा जनताको शुझाव, सल्लाह र गुनासो लिएको बताएकी छन् ।
नेकपा एमाले जिरी नगरकमिटीले सांसद सहितका जनप्रतिनिधिलाई ‘जनतासँग जनप्रतिनिधि भेटघाट’ कार्यक्रमको आयोजना गरेको थियो । जिरीमा एमालेका जनप्रतिनिधिको नेतृत्वमा नगरकार्यपालिका सञ्चालनमा रहेको छ ।
एमालेबाट सांसद बनेकी सुनुवार नगर केन्द्रित हुँदा स्थानीय तहका जनप्रतिनिधि पनि यो कार्यक्रममा सामेल भएका हुन् । दोलखाबाट नेकपा एमालेको तर्फबाट संघमा एक जना र प्रदेशमा दुई जना समानुपातिक सांसद बनेका छन् । जसमा यो पटक क्षेत्र नम्बर १ अन्तर्गत जिरी ९ घर भएकी उर्मिला सुनुवारले पनि सांसद बन्ने अवसर पाएकी छन् । ३९ वर्षीया उर्मिला देश संघीयतामा गएपछि बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सुनुवार समुदायको पहिलो सांसद हुन् ।
सांसद सुनुवार यसअघि नेकपा एमाले उपत्यका विशेष कमिटीका उपसचिव तथा राष्ट्रिय युवा संघका पूर्व केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा थिइन् ।