
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । एमालेको आज बसेको सचिवालय बैठकले १९ जना उम्मेदवारको नाम तय गरेको हो । एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नुभएको छ ।
एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) को नाम पक्का भएको छ।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार हुने भएका छन्। लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ।
कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्। सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बन्ने भएका छन् ।
११ सिटका लागि ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । प्रमुख प्रतिपक्षी दल एमालेले सबै पदमा उम्मेदवारी दिने भएको छ ।