
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा क्यान्सरका बिरामी बढ्न थालेका छन् । नगरपालिकामा गम्भिर प्रकृतिका रोगी ३७ जना रहेकोमा क्यान्सर रोगीका मात्रै ३१ जना छन् । क्यान्सर रोगी मध्ये १७ महिला र १४ जना पुरुष छन् ।
जिरी नगरपालिकाको वडा नम्बर ४, ६, ७ र ८ मा ५/५ जना तथा वडा नम्बर २ र ३ मा ४/४ जना क्यान्सरका रोगी रहेको जिरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जिरीको वडा नम्बर ९ मा १ जना र ५ मा २ जना क्यान्सरका रोगी रहेका छन् । वडा नम्बर १ स्यामामा भने अहिले सम्म क्यान्सरको रोगी फेला परेका छैनन् ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवप्रसाद दाहालका अनुसार नगर क्षेत्रमा वर्षेनी क्यान्सरका रोगी बढिरहेका छन् । उहँका अनुसार जिरीमा मृगौला प्रत्यारोपणका २ र डाइलासिस गराईरहेका ४ गरी ६ जना रोगी छन् । गम्भिर प्रकृतिका रोग लागेका ३७ जना बिरामीलाई जिरी नगरपालिकाले मासिक ५ हजारका दरले उपचार खर्च उपलब्ध गराउँदै आएको छ । यो सुविधा पाउनेमा २० जना महिला र १५ जना पुरुष छन् ।
सरकारले गम्भिर प्रकृतिका रोग लागेका, मृगौला प्रत्यारोपण गरेका, डाइलाइसीस गराईरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार दिँदै आएको छ । जिरीमा मेरुदण्ड पक्षघातका बिरामी भने देखीएका छैनन् ।
औषधी उपचार खर्च पाउनका लागी राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, डाक्टरको सिफारिस, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी निलो वा रातो कार्ड सहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
लाभग्राहीको सूची प्रत्येक आर्थिक वर्षको सुरुमा सम्बन्धीत वडा कार्यालयमा नविकरण गर्नुपर्ने व्यवस्था छ ।