
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका दोलखाको भीरकोटका पुरुष धरौटीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोट घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी १ लाख धरौटी बुझाएर रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको आजको ईजलासले पक्राउ परेका तीनै जनालाई एक/एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेश अनुसार दोलखाका केसी र झापाको बुद्ध शान्ती गाउँपालिका–४ की ५५ वर्षीया सितल भनिने सितादेवी राई धरौटी बुझाएर रिहा भएका हुन् । तर, अर्का प्रतिवादी हुम्ला घर भएका ३२ वर्षीय महानन्द जैशी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेलले जानकारी दिनुभयो । जैसी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जुम्लाका उपसभापति हुन् ।
तीनै जनाविरुद्ध अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता भएको थियो ।