images
images

म्याग्दीमा ‘आविष्कार’को जित: भारी मतान्तरले महावीर पुन विजयी

  • २३ फाल्गुन २०८२, शनिबार ०८:३४

भक्तपुर । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विकास र प्रविधिका अभियन्ता महावीर पुनले सानदार जित निकालेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार, स्वतन्त्र उम्मेदवार पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पछि पार्दै विजयको झण्डा गाडेका हुन् ।

निवर्तमान मन्त्रि समेत रहेका पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन् । यो मत उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठको तुलनामा झण्डै तीन गुणा बढी हो । श्रेष्ठले जम्मा ७ हजार ९१९ मतमा चित्त बुझाउनु परेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाको पक्षमा ३ हजार ५२९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । कुल ८६ हजार ३९७ मतदाता रहेको म्याग्दीमा यसपटक ४६ हजार २१५ मत खसेको थियो ।

राजनीतिक दलका पुराना ‘किल्ला’ मानिने क्षेत्रमा एक स्वतन्त्र उम्मेदवारको यो स्तरको जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । म्याग्दीली जनताले यसपटक परम्परागत राजनीतिक अनुहारभन्दा ‘काम’ र ‘भिजन’ भएका व्यक्तिलाई रोजेको स्थानीय विश्लेषण छ ।